चीनबाट उद्धार गरिदिन ३ सय बढी नेपालीले दिए आवेदन

चीनबाट उद्धार गरिदिन ३ सय बढी नेपालीले दिए आवेदन

काठमाडौं : चीनबाट उद्धार गरिदिन आग्रह गर्दै तीन सय भन्दा बढी नेपालीहरुले बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

दूतावासले आइतबार बिहान ९ बजेसम्मको समय दिएर स्वदेश फर्किन इच्छुक हुवे प्रान्तमा बस्ने नेपालीहरुबाट आवेदन आह्वान गरेको थियो । तर, हुवेभन्दा बाहेकका प्रान्तबाट पनि आवेदन परेको दूतावास स्रोतले बताएको छ ।

‘हुवे प्रान्तभन्दा बाहिर बस्दै आएकाहरुको समेत गरी तीन सय भन्दा बढीको निवेदन प्राप्त भएको छ । कतिपयले आफ्ना साथीहरुका पनि फारम भरिदिएका छन् । हुवे प्रान्तमा करिब १७० जना नेपालीहरु रहेको अनुमान थियो । तीमध्ये केही जाडो विदा भएपछि पहिले नै स्वदेश फर्किइसकेका थिए । अहिले करिब १५० जना नेपाली हुवेमा रहेको अनुमान गरिएको छ ।

त्यसअघि उद्धार गरिएकाहरुलाई निगरानीमा राख्ने स्थान, उनीहरुको उपचारमा खटिने जनशक्ति, उपचारमा प्रयोग हुने उपकरण, ल्याबलगायतको सम्पूर्ण विवरण नेपालले चीनलाई बुझाउनुपर्छ । तर, दोब्बर बढीको आवेदन परेपछि हुवे प्रान्तका र अन्य प्रान्तका आवेदकलाई छुट्याउने काम भइरहेको दूतावासका अधिकारी बताएका छन् । ‘हुवे प्रान्तकालाई मात्र लिस्टिङ गर्ने काम भइरहेको छ, त्यसपछि मात्र नेपाल फर्काइनेहरुको संख्या एकिन हुनेछ,’ ती अधिकारीले भने, ‘संख्या यकीन गर्न अझै दुई–चार दिन लाग्ने अनुमान गरीएको छ ।’

हाल नेपालबाट नेपाल वायु सेवा निगमको जहाज वा हिमालयन एयरलाइन्सको जहाज चार्टर्ड गरेर चीनबाट नेपालीहरुको उद्धार गर्ने चर्चा छ । १ सय ५८ सिटे हिमालयको वा नेपाल एयरलाइन्सको न्यारो बडी जहाजले त्यो भन्दा बढी सं‌ख्यामा नेपाली भए एकै फ्लाइटमा बोक्न सक्दैन । यस्तो अवस्थामा वाइड बडीको जहाज झिकाउनुपर्ने वा चीनकै कुनै ठूलो विमानमार्फत् नेपालीलाई स्वदेश पठाउनुपर्ने दूतावासले जनाएको छ ।

यसअघि चीनमा रहेका नेपालीहरुले आफूहरुको उद्धारको पहल नगरेको भन्दै नेपाल सरकारको आलोचना गरेका थिए । त्यसपछि चिनियाँ दूतावासले नेपाल फर्किन इच्छुकबाट आवेदन आह्वान गरेको हो ।