काठमाडौ : चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ ।चीनमा रहेका कूल भारतीय नागरीकको संख्या ६४७ जनामध्ये कोरोना भाइरसका कारण ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरिएको हो।
उहानबाट आइतबार बिहान ३:१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।
चीनको उहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ । चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । रासस