काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको बारे पार्टी बैठकमा जानकारी गराएका छन्।
बुधबार बिहान बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूुलाई बयानका लागि बोलाइएकोबारे जानकारी गराएका हुन्। साथै, उनले उक्त बयान दिन आफू तयार रहेको पनि बताएका छन्।
‘मलाई ७ गते बयानका लागि बोलाइएको छ। म जान्छु। प्रश्न के सोध्छन् भन्ने अहिले नै केही थाहा छैन,’ सभापति लामिछानेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मसँग अहिले नै यसबारे भन्ने केही कुरा पनि छैन। त्यहाँबाट फर्किएपछि पार्टीलाई जानकारी गराउँछु।’
पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ।