पाइलट बाबाको निधन

पाइलट बाबाको निधन

काठमाडौं। भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ। भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो।

उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ। उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए।

पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो।

इन्स्टाग्राममा लेखिएको छ- 'ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ। उनले आफ्नो नश्वर शरीर त्यागेका छन्। यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो। कृपया यसलाई सहज रूपमा लिनुहोस्। यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो। थप जानकारी साझा गरिनेछ।'