नयाँ दिल्ली । कोलकतामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या गरिएको मुद्दामा मंगलबार भारतको सर्वोच्च अदालतले सुनुवाइ गरेको छ ।
अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यो सुनुवाइ गरेको हो । ‘यस्तो लाग्छ कि अपराधको पत्तो केही बेरमै लागेको थियो । तर मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या बताउन खोजे,’ अदालतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले समाचार छापेको छ ।
‘अधिकांश युवा डाक्टरहरू ३६ घण्टा काम गर्छन् । काम गर्ने सुरक्षित वातावरण सुनिश्चित गर्न हामीले राष्ट्रिय प्रोटोकल विकास गर्नुपर्छ,’ अदालतले भनेको छ । महिलाहरू काममा जान नसक्नु अनि गएकाहरू पनि कार्यस्थलमा सुरक्षित नहुन् भनेको उनीहरूलाई समानताको अधिकारबाट वञ्चित गर्नु भएको पनि बताइएको छ । पीडितको नाम मिडियामा जताततै प्रकाशित भएकोमा अदालतले चिन्ता व्यक्त गरेको छ । आरजी कार अस्पतालका प्रिन्सिपलको आचरण छानबिन भइरहँदा उनलाई तत्कालै अर्को कलेजमा कसरी नियुक्ति गरियो भनेर पनि अदालतले प्रश्न उठाएको छ ।
साथै अदालतले कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ । यस मामिलामा एफआईआर दर्ता गर्नमा ढिलाइ गएको भन्दै अदालतले पश्चिम बङ्गाल सरकारलाई हप्काएको छ । अस्पताल प्रशासन त्यतिबेला के गरिरहेको थियो भनेर पनि सोधिएको छ । राज्यमा कानुन व्यवस्था पूर्ण रूपमा असफल भएको सलिसिटर जनरल तुषार मेहताले भनेका छन् । पुलिसको जानकारी बिना ७ हजारको भीड आरजी कार अस्पतालमा प्रवेश गर्न नसक्ने पनि उनले बताए ।