विराटनगर । सोलुखुम्बुको थामेका बाढीपीडितलाई माग गरिएको नलगेर अरू नै राहत सामग्री बोकेर कोसी प्रदेश सरकारको ‘जम्बो’ टोली सोलुखुम्बु पुगेको छ । मंगलबार बिहान ती सामग्री प्रदेशका दुई मन्त्रीले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)लाई हस्तान्तरण गरे ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले पीडितलाई तत्काल चाहिने र अति आवश्यक वस्तु माग गरिए पनि त्यसबमोजिमका सामग्री उपलब्ध हुन नसकेको बताइन् । गएको साउन ३२ गते दुई हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा भीषण बाढी गएको थियो । सिंगो गाउँ नै बाढीको चपेटामा परेको थियो । धेरै परिवार विस्थापित बनेका छन् ।
कोसी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लव अधिकारी र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की १४ जनाको दलबलसहित सोलुखुम्बु पुगेका हुन् । मन्त्रीहरूसँग सुरक्षाकर्मी, चालक, कर्मचारी, सचिवालयका प्रतिनिधि र नेकपा ९एमाले०का कार्यकर्ता पनि साथै गएका थिए ।
विराटनगरबाट दुई दिनअघि हिँडेको टोली उदयपुरको घुर्मी हुँदै सल्लेरी पुगेको छ । ५०र५० थान सिरक, मेट्रिक्स र तन्ना लिएर मन्त्रीद्वयसहितको टोली सोलुखुम्बु गएको हो । ती सामग्री ढुवानी गर्न प्रदेश सरकारले करिब ४० हजार रुपैयाँ भाडा तिरेर लगेको सवारीसाधन भने विराटनगर फर्किइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले बाह्रखरीसँग भनिन्, “हामीले पीडितका लागि खाद्यान्नसहितका अति आवश्यक वस्तु सहयोग गर्न पत्राचार गरेका थियौँ । प्रदेशका मन्त्रीज्यूहरूले ५०र५० थान सामग्री हामीलाई हस्तान्तरण गरेर फर्किनुभएको छ ।”
पीडितका निम्ति प्राप्त सहयोग होलिकोप्टरमार्फत ‘एयर लिफ्ट’ गरेर पठाउनुपर्नेमा मौसम प्रतिकूलताका कारण कठिनाइ भएको उनले बताइन् । “यसअघि हामी आफैँ प्रभावित क्षेत्र पुगेर बाढीबाट प्रभावितको वस्तुतस्थितिको जानकारी लिएका थियौँ,” प्रजिअ पाण्डेले भनिन्, “पीडितलाई तत्काल राहत चाहिएको छ । एकपटकमा हेलिकोप्टरबाट ३०० केजीभन्दा धेरै तौलका सामग्री लैजान पनि अप्ठ्यारो छ ।”
सोलु सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिँडेपछि मात्र प्रभावित क्षेत्र थामे पुग्न सकिन्छ ।मन्त्री अधिकारीले राहत सामग्री हस्तान्तरण गर्दै जनताको दुःखमा प्रदेश सरकार साथै रहेको बताए । मन्त्रीद्वय हेलिकोप्टरमार्फत लुक्लासम्म जाने तयारीमा थिए । तर, मौसम प्रतिकूल बनेपछि उनीहरू ओखलढुंगा र खोटाङ हुँदै विराटनगर फर्कने तयारीमा छन् ।
मन्त्रीद्वय पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर विराटनगर फर्कने समय तालिका मिलाइएको उनीहरूसँगै सल्लेरी गएका पत्रकार अविजाल विष्टले बताए । मन्त्री अधिकारीले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यमा थामेका बाढी प्रभावितलाई पुनःस्थापनाका निम्ति प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।