बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, हजारौँ प्रभावित

बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो, हजारौँ प्रभावित

यमन । युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ।  

संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मानिस प्रभावित भएका छन्। राष्ट्रसङ्घीय मानवीय एजेन्सी ओसिएचएले सोमबार जारी गरेको रिपोर्टमा जुलाईपछि अचानक आएको बाढीका कारण होडेडा प्रान्तमा ३६, इब्बमा नौ, मारिबमा आठ र ताइजमा सात जनाको मृत्यु भएको उल्लेख छ। 

'विद्यालय, सडक र स्वास्थ्य सुविधा लगायतका सार्वजनिक पूर्वाधार प्रभावित भएका छन्', ओसिएचएले भनेको छ।  होडेडा र मारिबमा मात्रै बाढीका कारण कम्तीमा छ सय जना घाइते भएका छन् र होडेडा र ताइजमा १३ जना अझै हराइरहेका छन्। नोट्रे डम विश्वविद्यालयका ग्लोबल एडप्टेसन इनिसिएटिभले यमनलाई यस क्षेत्रको सबैभन्दा जलवायु–संवेदनशील देशहरू मध्ये एक भएको बताएको छ।

हालका वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षाको आवृत्ति र तीव्रतामा वृद्धि भएको अनुभव गरेको रेडक्रस र नर्वेली रेडक्रसको अन्तर्राष्ट्रिय समितिको २०२३ को प्रतिवेदनमा उल्लेख छ। संयुक्त राष्ट्रसङ्घले गत हप्ता यमनको चरम मौसम अवस्थाका लागि आपत्कालीन प्रतिक्रिया मापन गर्न तत्काल चार लाख नौ हजार डलर आवश्यक रहेको चेतावनी दिएको छ।