अस्पतालमै डाक्टरको बलात्कार र हत्या, ९ दिनदेखि प्रदर्शन

अस्पतालमै डाक्टरको बलात्कार र हत्या, ९ दिनदेखि प्रदर्शन

भारत । पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन्।  

परीक्षण गर्दा उनीमाथि बलात्कार र त्यसपछि हत्या भएको खुलेपछि कोलकातासहित भारतका विभिन्न सहरहरूमा प्रदर्शन चर्किरहेको छ। घटनाको विरोध गर्दै अभियुक्तलाई कडा कारबाहीको माग गरिएका सन्देशहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। घटनापश्चात सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए। प्रदर्शनमा भारतीय मेडिकल एसोशिएसन, नागरिक समाज र विद्यार्थीहरूले ऐक्यवद्धता जनाएका छन्। 

भारतको प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरिसकेको छ तर प्रदर्शन मत्थर भएको छैन। ती डाक्टरमाथि सामूहिक बलात्कार भएको तर प्रहरीले एकजनालाई देखाएर अन्यलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शनकारीहरूले अभियुक्त पक्राउ परिसक्दा पनि प्रदर्शन जारी राखेको भारतीय समाचार संस्थाहरूले लेखेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार कोलकाता प्रहरीले घटनाको भोलिपल्टै(अगस्ट १०)मा सञ्जय रोय नाम गरेका व्यक्तिलाई समातेको थियो। मृतक डाक्टरको नङभित्र भेटिएको अभियुक्तको रगत र छालाको अंशको डिएनए पनि सञ्जयको डिएनएसँग मेल खाएकाले अभियुक्त उनै हुन् भन्ने प्रमाणीत समेत भइसकेको हिन्दुस्तान टाइम्सले लेखेको छ। 

ती व्यक्ति अस्पतालकै स्वयंसेवक रहेकाले अस्पतालको सबै ठाउँमा उनलाई प्रवेश खुला थियो। उनी हरेक दिनजसो अस्पताल जान्थे। त्यस रात सेमिनार हलमा डाक्टर निदाइरहेको समयमा सञ्जय पुगेका थिए। त्यसबेला डाक्टरले प्रतिकारका लागि भरमग्धुर प्रयास गरेको उनको नङभित्र भेटिएको छाला र रगतका धब्बाहरूले पुष्टी गर्ने कोलकाता प्रहरीले बताएको छ।

बलात्कारपछि अभियुक्तले घाँटी थिचेर डाक्टरको हत्या गरेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ। बलात्कार र हत्या गरेपछि आफू घरमा गएर सुतेको र प्रमाण नदेखियोस् भनेर आफूले लगाएको कपडा धोएको प्रहरीसँगको बयानमा बताएका छन्। 

अस्पतालमै जघन्य अपराध भएपछि अगष्ट १२ मा अस्पतालका प्रिन्सिपल प्राध्यापक डा। सन्दीप गोशले पदबाट राजीनामा दिएका थिए। कोलकता उच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिन आदेश गरेको थियो। त्यसयता सिबिआईले अनुसन्धान गर्दै आएको छ। सिबिआईले अगष्ट १६ मा तत्कालीन प्रिन्सिपल गोशसँग पनि सोधपुछ गरेको छ।

मृतककी आमाले भने छोरीबारे सुरूमै गलत सूचना दिएको बताउँदै आएकी छन्। अगस्ट ९ को बिहान १०स्५३ बजे अस्पतालका सहायक सुपरिटेन्डेन्टले फोन गरेर छोरी बिरामी भएको बताएको, पछि फोन गर्दा डाक्टरकहाँ लगिँदै गरिएको र तेस्रोपटक फोन गर्दा आत्महत्या गरेको भनिएको बताएकी छन्। 

अस्पतालमा पनि तीन घन्टापछि मात्रै छोरीको शव हेर्न दिएको उनकी आमाको भनाई उद्धृत गर्दै समाचार संस्था द वायरले उल्लेख गरेको छ। ‘हाम्रो छोरीको शव हेर्न मात्रै हामीले तीन घण्टा कुर्नुपर्‍यो। हामीले निरन्तर अनुरोध गरिरह्यौं, मैले घुँडा टेकेर अनुरोध गरेपछि मात्रै छोरीको अनुहार एकपटक हेर्न पायौं। मैले अनुसन्धानमा कुनै पनि बाधा नपुर्‍याउने र एक पटक हेर्न मात्रै चाहेको भनेपनि हामीलाई जान दिइएन,’ मृतककी आमाले द वायरसँग भनिन्।

यसो त अस्पताल प्रशासनले पनि यस घटना भएको ९ दिन बितिसक्दा पनि आफूहरूसँग कुराकानी गर्न नआएको बताएका छन्।