कसैले केपी ओलीलाई कमजोर बनाउँछु भन्ने नसोचे हुन्छ : कैलाश ढुंगेल

कसैले केपी ओलीलाई कमजोर बनाउँछु भन्ने नसोचे हुन्छ : कैलाश ढुंगेल

काठमाडौं : नेकपा नेता एवं वागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल केपी ओली निकटका नेता हुन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन काठमाडौं आएका ढुंगेल नेकपाभित्र नेकपाभित्र केपी ओलीको विकल्प खोज्नु भनेको समृद्धिको नारालाई परित्याग गर्नु हो भन्छन् ।

प्रदेश मन्त्री ढुंगेलले भने, ‘केपी ओलीको विचार त्यही हो, त्यो विचार नेकपामा अल्पमतमा पर्दैन । सारमा मैले केपी ओलीको विकल्प खोज्नु भनेको चाहिँ मुलुकको समृद्धिको नारालाई छाड्नु हो भन्छु ।’

संघीय सरकारले प्रदेश सरकारलाई आदेश पालक बनाउन खोजेको र अधिकार दिन नचाहेको आरोप लागिरहेका बेला वागमती प्रदेशका अर्थमन्त्री ढुंगेलले भने फरक अनुभव गरेका रहेछन् । काम गर्नका लागि प्रदेशलाई प्रशस्त अधिकार क्षेत्र देखेका ढुंगेलले भारतमा भन्दा नेपालमा प्रदेशहरु अधिकार सम्पन्न रहेको दाबी गरे ।

नेकपा केन्द्रीय कमिटी बैठकमा भाग लिन हेटौंडाबाट काठमाडौं आएका ढुंगेलले प्रदेशले काम गर्न सकेनौं भनेर केन्द्रलाई आरोप लगाउनु ‘नाँच्न नजान्नेले आँगन टेढो’ भने जस्तै हुने टिप्पणी समेत गरे । पछिल्लो समय प्रदेशहरुको कामले गति लिन थालेको महशुस गरेका ढुंगेल तीनै तहका सरकार एक अर्कामा नठोक्किइ अघि बढ्नुपर्ने बताए ।