पशुपति कोटीहोममा प्रहरी पुगेपछि सुरू भयो कुटाकुट

पशुपति कोटीहोममा प्रहरी पुगेपछि सुरू भयो कुटाकुट

काठमाडौंको पशुपतिस्थित कोटीहोममा शुक्रबार राति कुटाकुट भयो। कोटीहोम भइरहेको पशुपतिमा राति प्रहरी र कथावाचक विजय कृष्णमूर्ति भनिने विजय भण्डारीका अनुयायीबीच कुटाकुट भएको हो।

त्यससँग सम्बन्धित भिडिओहरू सामाजिक सञ्जालमा अहिले छ्यापछ्यापती भएका छन्।  प्रहरीका एक उच्च अधिकृतका अनुसार भण्डारीले प्रहरी प्रधान कार्यालयबाट चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिएको विषय सार्वजनिक भएपछि प्रहरीले त्यसबारे बुझ्न खोजेको थियो। केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा प्रश्नकर्ताले भण्डारीलाई उनीमाथि लागेका 'ठगी' आरोपबारे सोध्दा भण्डारीले आफूलाई प्रहरीले नै  'चारित्रिक प्रमाणपत्र' (पुलिस रिपोर्ट) दिएको बताएका थिए। 

प्रहरी प्रधान कार्यालयबाट लिएको चारित्रिक प्रमाणपत्रमा आफ्नो कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको उल्लेख गरिएको जवाफ भण्डारीले दिएका थिए। सोही जवाफबारे प्रहरीले सामान्य सोधपुछ गर्न खोजेको थियो। तर कोटीहोम चलिरहँदा सोधपुछ गर्न नमिलेपछि प्रहरी समापन पर्खेर बसेको थियो। समापन भएपछि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको थियो। 

‘चारित्रिक प्रमाणपत्रबारे केही कुरा सोधपुछ गर्नुपर्ने भएकोले सादा पोशाकको टोली खटिएको थियो। हिजो समापन पनि थियो। कोटिहोम चलिरहँदा सोधपुछ गर्न नमिल्ने भएकाले सबै काम सकिसकेपछि टोलीले सामान्य सोधपुछ गर्नुपर्ने छ भनेर उहाँलाई भेटेको थियो,’ ती अधिकृतले भने, ‘होम सकेपछि फेरि कता जानुहुन्छ भनेर त्यही बेला भेट्न खोजिएको हो।’

ती अधिकृतका अनुसार‍ सुरूमा सोधपुका लागि भण्डारी सहमत भएको र त्यसका लागि गौशाला प्रहरी वृत्त जाने कुरा भएको थियो। त्यहाँसम्म आफ्नै गाडीमा जान्छु भनेको तर केहीबेरपछि भने नजिकै रहेकाले हिँडेर जाने बताएका थिए। 

‘कुराकानी भइरहँदा उनका अनुयायीहरू आए। प्रहरी चार-पाँच जनामात्रै थियो। उनीहरूले सामान्य कुराकानीमात्रै गर्ने हो भन्ने सोचेर पुगेको टोलीलाई गुरू पक्राउ गर्न आए भनेर होहल्ला गरे,’ ती प्रहरी अधिकृतले भने। त्यसपछि गौशाला जान तयार भइसकेका भण्डारीलाई अनुयायीहरूले घेरा हालेर कोटिहोम भइरहेको स्थानतर्फ लगेका थिए। त्यसैबीच प्रहरीहरूमाथि अनुयायीहरूले कुटपिट समेत गरेका थिए। प्रहरीमाथि नै कुटपिट भएको रिपोर्टिङ भएपछि थप प्रहरी परिचालन भएको ती अधिकृतले जानकारी दिए।

'थप प्रहरीमाथि पनि लोटा, फ्यान, भाटा जे भेटिन्छ त्यही सामान प्रहार भयो। घटनामा एक जना असई घाइते हुनुभएको छ। उहाँको नेपाल-भारत अस्पतालमा उपचाररत छन्,' उनले भने। 
त्यसपछि भण्डारीसँग सोधपुछ गर्न लागेका प्रहरी पछि हटेको थियो। अनुयायीहरूले घेरेर लगेपछि त्यहाँ भण्डारी फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न आएको बताएका थिए। फेसबुक लाइभपछि थप भक्तजनहरू जम्मा हुन थालेका थिए। 

यसरी घटना भएपछि काठमाडौंका एसएसपी बसन्त रजौरे पनि गौशाला पुगेका थिए। उनले प्रहरी वृत्त गौशालामा विजय भण्डारीका सहकर्मीलाई बोलाएर छलफल गरेका थिए। एसएसपी रजौरेले यस विषयमा गलतफहमी भएको बताए।‘धेरै केही भएको होइन। मिसअन्डरस्ट्यान्डिङ भएको हो। अहिले मिलिसकेको छ,’ उनले भने, ‘प्रशासन कार्यालयमा आज पनि छलफल भएको छ। समाधान भइसक्यो। सहमति भइसकेको छ।’

उनले दुई पक्षबीच सहमति भइसकेको पनि बताए। यद्यपि के विषयमा सहमति भएको भन्ने खुलाएनन्।