काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १२ पृष्ठको प्रस्तावले सो पार्टीमा तरंग पैदा गरेको छ। आफ्ना प्रस्ताव सम्बोधन गराउन शर्मा डटेर लाग्ने तयारीमा छन्।
शर्माले आफ्ना आन्तरिक र व्यक्तिगत विषय बाहिर सार्वजनिक गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने असन्तुष्ट बनेका छन्। तत्काल विशेष महाधिवेशनको मिति तोक्नुपर्ने, नेतृत्व हस्तान्तरणको आधार बनाउनुपर्ने लगायतका माग राख्दै शर्माले साउन २६ गते स्थायी समिति बैठकमा लिखित प्रस्ताव राखेका थिए। उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाएका छन्।
उनको प्रस्तावले अध्यक्ष प्रचण्ड स्तब्ध बनेको एक पदाधिकारीले बताए। ‘जनार्दन शर्माले उठाएका विषयले अध्यक्षलाई सक्ड बनाएको छ,’ ती पदाधिकारीले भने, ‘शर्माजीले प्रमाण नपुगेको, पुष्टि नभएको कुरा शंकाको भरमा लिखित दस्तावेजमा राख्नुभएछ। अहिले जनतामा एजेन्डा लिएर जानुपर्थ्यो र बहस विशेष महाधिवेशनकै छेको पारेर गरेको भए भइहाल्थ्यो। पार्टीमा दर्ज गरेको डकुमेन्ट फेरि किन बाहिर लिएर गएकोरु पार्टीका लागि भन्दा मिडिया ट्रायल र बाहिर खपतको लागि हो भन्ने त देखिहालियो।’
शर्माले गर्न नहुने काम गरेको उनको दाबी छ। ‘नबोल्नुपर्ने बोल्नुभयो, माओवादीप्रति आम जनतामा सकारात्मक धारणा बनिरहेको बेला पार्टीभित्र हुँदै नभएको विवाद छ भन्ने सन्देश तल्लो पंक्तिलाई दिन खोज्नुभयो,’ प्रचण्डनिकट ती नेताले भने, ‘माओवादीप्रतिको सहानुभूतिलाई सेबोटेज गरियो। यो ठिक भएन।’
शर्मालाई प्रयोग गरेर पार्टीमा बाहिरी शक्तिले खेल्न खोजेको उनीहरूको आशंका छ। ‘प्रचण्डको नेतृत्वलाई चुनौती दिने मान्छे पनि छ भनेर बाहिर देखाउन खोजिएको हो,’ ती नेताले दाबी गरे, ‘बाहिरी शक्ति माओवादी सिध्याउन चाहन्छ। साथीहरूको (जनार्दन) उद्देश्य के हो भन्नेमा भर पर्छ। पार्टी बनाउने उद्देश्य भए त राम्रै होला, होइन अरु नै हो भने त रामराम भन्ने त हो। तर, हामी चाहन्छौँ, त्यस्तो नहोस्।’
यद्यपि, प्रचण्डले छलफल गरेरै समस्या समाधान गर्ने बताइरहेका छन्।