शेयर बजारमा अर्को कीर्तिमान, २७ अर्ब माथिको ऐतिहासिक कारोबार

शेयर बजारमा अर्को कीर्तिमान, २७ अर्ब माथिको ऐतिहासिक कारोबार

काठमाडाैँ । सोमबार सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ। यो ऐतिहासिक उच्च कारोबार हो। हालसम्म बजारमा यो दरमा कारोबार भएको छैन। आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो।

नेप्से परिसूचक पनि करिब ३१ महिनाको उच्च विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक ७०.६७ अंकले बढेर २९३१.५२ विन्दुमा आएको छ। यसअघि नेप्से २०७८ माघ ४ गते २९३६ विन्दुमा थियो।  नेप्से अबको केही दिन २९६० देखि २९८० को आसपासमा रहन सक्छ। किनभने नेप्सेले यो विन्दुमा प्रतिरोध पाउने सम्भावना छ। यसअघि नेप्से हालसम्मकै उचाइ ३१९८ मा पुगेको समयमा त्यहाबाट घटेर पुनः बढ्ने क्रममा २९६० देखि २९८० को आसपासमा प्रतिरोध पाएको थियो। 

यो प्रतिरोध पार गरेमा भने नेप्सेको लक्ष्य नै ३१९८ हुनेछ। यसदिन ३३९ वटा धितोपत्रको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको हो। सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै तीन कम्पनीको मूल्य स्थिर रहेको छ।  यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, भिजन लुम्बिनी र शुभम पावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको हो।

यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८ रूपैयाँ १० पैसामा झरेको छ। लक्ष्मी लघुवित्तको मूल्य ३.८० प्रतिशतले घटेको छ।  उक्त कम्पनीको प्रति कित्ता मूल्य एक हजार १९० रूपैयाँ कायम भएको छ। सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार रूपैयाँमा १ अर्ब २२ करोडको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७२२ रूपैयाँमा ९२ करोड २८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र उत्पादन तथ प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ४.८१ प्रतिशतले बढेको छ।