‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ हुँदै

‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ हुँदै

काठमाडौँ : आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने भएको छ । उपत्यका नगरपालिका फोरमले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो ।

कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले ‘डब्लुडब्लुडब्लु डट आइएमसी–२०२० डट ओआरजी डट एनपी’ वेबसाइट पनि सार्वजनिक गर्नुभएको थियो । साइटमा सम्मेलनका सूचना तथा जानकारीसँगै काठमाडौँ उपत्यकाका १८ वटै नगरका विवरण राखिनेछन् ।

कार्यक्रममा प्रमुख शाक्यले कार्यक्रममा विश्वका विभिन्न देशका नगरप्रमुख, नीतिनिर्माता र योजनाविद्का बीचमा शहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धि र अनुभवको आदानप्रदान बताउनुभयो । शहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य रहेको पनि प्रमुख शाक्यले जानकारी गराउनुभयो ।

भक्तपुर मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले शहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुआत हुनेछ भने समुदायको सशक्तिकरण तथा सुशासनका माध्यमबाट विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र विश्वास हुने धारणा राख्नुभयो ।

सम्मेलनमा आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने उहाँले बताउनुभयो । सम्मेलनमा मेयर र विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनाका साथै पाहुनालाई उपत्यकामा भएका विश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अवलोकन गराइनेछ । यसरी हुने भ्रमण अवलोकनबाट नेपाल र नेपालीको खास तथा सद्भावका बारेमा अन्तर्राष्ट्रिय नगर र त्यहाँका नागरिकमा सूचना प्रवाहमा सहयोग पुग्ने विश्वास प्रमुख श्रेष्ठको छ ।

सम्मेलनमा काठमाडौँ उपत्यकाभित्रका नगरसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय शहर, सार्क तथा दक्षिण र दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख शहर, युनेस्को तथा विश्व सम्पदा शहरहरुको सङ्गठनमा आबद्ध सम्पदा शहरका नगरप्रमुखलाई आमन्त्रण गरिनेछ ।

त्यस्तै नीतिनिर्माता तथा योजनाविद्लाई निमन्त्रणा गरिने सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पु¥याउने अपेक्षा गरिएको छ । बढ्दो शहरीकरण, सम्पदा संरक्षण, पर्यावरण तथा आर्थिक समृद्धि हासिल गर्न नगरहरुले चालेका कदम आपसमा आदानप्रदान हुने सम्मेलनबाट आयोजकलाई नयाँ गति प्राप्त हुने अपेक्षा गरिएको छ ।