काठमाडौं। नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आज प्रचण्डको उत्तराधिकारीबारे छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए। उनले उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधि र संगठनमा धेरै राम्रो तयारी गर्नुपर्ने भएकाले यो विषयमा छलफल भएको उनले सुनाए।
‘कम्युनिष्ट पार्टीभित्र नेतृत्व विकासको कुरा उत्तराधिकारी बनाउने कुरा यी कुरा निकै महत्वपूर्ण हुन्छन्। ती विषयमा सैद्धान्तिक रुपमा छलफल चलेको कुरा साँचो हो,’प्रवक्ता सापकोटाले भने।
साथै, बैठकमा वक्ताहरुले नेतृत्वले सही मूल्यांकन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। बैठकमा वैज्ञानिक मापदण्ड बनाएर मूल्यांकन गर्ने परिपाटी बसाल्नुपर्नेमा वक्ताहरुले जोड दिए।
आजको बैठकमा १४ जनाले आफ्नो धारणा राखेको र अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर मूल्याङ्नको परिपार्टी बसाल्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाको भनाइ छ।