विमान दुर्घटना: ६१ जनाको मृत्यु, भाग्यले बाँचे २ यात्रु

विमान दुर्घटना: ६१ जनाको मृत्यु, भाग्यले बाँचे २ यात्रु

ब्राजिल । ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ।

दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो। उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले ग्लोबो न्यूज टेलिभिजनलाई बताएका छन्।

भाग्यले बाँचे २ यात्रु

परानाको कास्कभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस एयरपोर्ट जाँदै गरेको उक्त विमानको टिकट लिएका केही यात्रु भने विमान छुटेकाले बाँचेका छन्। तीमध्ये एक हुन्– एड्रियानो एसिस। उनले भने, ‘विमानको उडान र कहिले उड्ने भन्नेबारे केही जानकारी थिएन। यो कुरा बताउन काउन्टरमा कोही थिएन। जब त्यहाँ कोही पुगे,  तिनले मलाई अब विमानमा चढ्न नसकिने बताए।’

यस क्रममा ती व्यक्तिसँग उनको झगडा पनि पर्‍यो। उनी भन्छन्, ‘तर म बाँचेकोमा भगवान्‌लाई धन्यवाद दिन्छु।’ अर्का यात्रु जोस फेलिपले पनि सुरुमा लाताम जान टिकट बुकिङ गरेका थिए। तर लातामको विमानस्थल बन्द थियो।एयरपोर्ट पुग्दा उनको बोर्डिङ लिमिट सकिएको बताइयो। त्यहाँ बसेका अधिकारीसँग उनको झगडा पनि पर्‍यो। अन्तत: उनलाई विमान चढ्न दिइएन। उनले भने, ‘यो एउटा डरलाग्दो अनुभव हो। म अझै काँपिरहेको छु। यो क्षणको साक्षी म र भगवान् मात्र हौँ।’