काठमाडौं। भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी आगामी आइतबार काठमाडौं आउने भएका हुन् । नेपालस्थित् भारतीय दूतावासले विदेशसचिव मिश्रीको भ्रमण तय भएको बताएको छ।
यही साउन २७ गते उनी नेपाल आउने भएका हुन्। उनी दुई दिन नेपालमा रहने बताइएको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको नयाँ सरकार गठन भएपछि भारतबाट यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.आरजु राणादेखि विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालय स्रोतले जनाएअनुसार विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेगरि कार्यक्रम बनाउन सुरु गरिएको छ । मिश्री गत असार १४ गते भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका हुन् ।
उनीअघि सो जिम्मेवारीमा नेपालका लागि राजदूतको जिम्मेवारी निर्वाह गरिसकेका विनयमोहन क्वात्रा थिए । क्वात्रा अमेरिकाको लागि राजदूत नियुक्त भएका छन् ।
विदेशसचिव मिश्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो पनि दिने बताईएको छ । अहिलेसम्म भारतले आधिकारिक रुपमा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन् । प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाईल्याण्ड हुने निश्चित् भएको छ ।