बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा प्रबन्ध मिलाउन शेखर कोइरालाको आग्रह

बङ्गलादेशमा रहेका नेपाली‍को सुरक्षा प्रबन्ध मिलाउन शेखर कोइरालाको आग्रह

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बङ्गलादेशमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले नेपाल फर्कन चाहनेहरूलाई सुरक्षित नेपाल ल्याउन पनि सरकारलाई आग्रह गरेका हुन्।

उनले बङ्गलादेशमा राजनीतिक र धार्मिक आस्थाका कारण कसैप्रति भेदभाव र अमानवीय व्यवहार नगर्न समेत सबैमा आग्रह गरेका छन्। यस्तै जतिसक्दो छिटो लोकतान्त्रिक विधि शुरु हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरुले सुरु गरेको सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग चर्किदै गएपछि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिएर देश छोडिसकेकी छन् ।

शेख हसिनाको सत्ता पतन भएपछि त्यहाँ नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उपचारका लागि फ्रान्समा रहेका युनुस स्वदेश फर्केसँगै मङ्गलबार राति उनी बङ्गलादेशको प्रमुखमा नियुक्त भएका छन् ।