छाउगोठका नाममा हाम्रा घर भत्काउन पाइन्छ?

छाउगोठका नाममा हाम्रा घर भत्काउन पाइन्छ?

काठमाडौँ : सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा चलेको छाउगोठ भत्काउने अभियानले संसद्मा प्रवेश पाएको छ । पछिल्लो समय गैरसरकारी संस्थाको सहयोगमा स्थानीय प्रशासनको समेत सहभागितामा सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदलेनै चर्को विरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै सांसद गजेन्द्र बहादुर महतले छाउगोठ भत्काएकोमा विरोध गरेका हुन् । उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छे होटेलमा मृत्यु भएको छ होटेल भत्काउँदै हिँड्ने? हजारौँ मान्छेहरू बसमा मृत्यु भएको छ अब बस भत्काउँदै, आगो लगाउँदै हिँड्ने? यो पनि तरिका कहीँ हुन्छ? चाहिँदो काम गर्नु पर्‍यो नि।’

सडक बनाउने ठेकेदार भागेको छ, पुलको बेहाल छ, सडकको हाल बेहाल छ, तिनीहरूलाई कारबाही गर्नु पर्दैन ?‘स्कुलको अवस्था के छ? हस्पिटलको अवस्था के छ? त्यो हेर्नु पर्दैन?,’ भन्ने प्रश्न गर्दै उनले थपे, ‘हिजो गोर्खाली सेनाका नाममा हाम्रा घर भत्काइयो। अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउने? यो के हेरेर बसेको गृह मन्त्रालय? काम पाएको छैन यसले?’