काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।
सांसद गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न मागसमेत गरेकी छन्।
सोमबार प्रतिनिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन्।
‘म बाढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौं-२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिएँ। अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरु जम्मा हुनुभएको रहेछ। ती युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो, ’उनले भनिन्,‘एकाएक मलाई घेर्न थाल्नुभयो। बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नु भयो। चक्रव्यूह जस्तो रचियो। जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो। पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो। एक किसिमले दुव्र्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनु भएको थियो।’
सांसद गौतमले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको र ति भिडिओ हाल्ने युवा एक राष्ट्रिय दलको युवा संगठनको जिम्मेवार व्यक्ति भएको बताइन्।
‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन ?,’ उनले प्रश्न गरिन्।