बंगलादेशमा सरकार विरोधी आन्दोलन थप चर्कियो, एकै दिन १३ प्रहरीसहित ९० जनाको मृत्यु

बंगलादेशमा सरकार विरोधी आन्दोलन थप चर्कियो, एकै दिन १३ प्रहरीसहित ९० जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध सुरु भएको विद्यार्थीको प्रदर्शन सरकार विरोधी आन्दोलनमा रुपान्तरण भएको छ ।

सरकार विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा आइतबार ९० जनाको मृत्यु भएको छ भने । आन्दोलनकारी र प्रहरीबीचको झडपमा १३ प्रहरी पनि मारिएका छन् ।

विद्यार्थी नेताहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै सुरु गरेको अवज्ञा आन्दोलन आगोसरी फैलिन थालेको छ ।

नागरिक पनि आन्दोलनमा सहभागी हुन थालेपछि देशव्यापी प्रदर्शनहरु बढेका छन् । प्रदर्शन चर्किदै गएपछि बंगलादेश सरकारले राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।

हजारौँ नागरिकहरु प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि राजधानी ढाकामा केन्द्रित भएका छन् ।

सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुर्नस्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् ।

सेनाले केही समयका लागि आन्दोलन मत्थर पारेपनि प्रधानमन्त्रीको राजीनामाको मुख्य माग गर्दै पछिल्लो हप्तादेखि बंगलादेशमा फेरि आन्दोलन चर्किएको हो ।