मान्छे खाएर भागेको नरभक्षी बाघ नियन्त्रणमा

मान्छे खाएर भागेको नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बिहीबार एक युवतीलाई खेतमा काम गर्दै गरेको अवस्थामा मारेर खाई बेपत्ता भएको बाघलाई नियन्त्रणमा लिइएको छ।

शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले शुक्रबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो।दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहलाई मारेर खाएपछि उक्त बाघ उखुबारीमा घुमिरहेको थियो। निकुञ्जका सूचना अधिकारी मनोज ऐरका अनुसार उक्त बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको हेडक्वार्टरमा पुर्‍याएर चिकित्सकको टिमले चेकजाँच गरिनेछ। बाघले मान्छे खाएपछि उक्त क्षेत्र हिजोदेखि नै त्रसित बनेको थियो। प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिन अनेक प्रयास गरे पनि हिजो दिनभर प्रयास असफल भएको थियो। त्यसपछि हात्तीको सहायतामा बाघलाई रातभर निगरानीमा राखिएको थियो।