मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

मानसिक बिरामी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

चितवन । चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका–६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो। डिएसपी रिजालका अनुसार बलात्कृत महिला मानसिक बिरामी हुन्। ‘परिवारसँगै एउटा घरमा खाना खाएपछि सुत्नका लागि अर्को घर फर्किँदै रहेछिन्। अर्कै बाटो लागेछिन्। बाटोमा तीन जना केटाहरूले भेटेपछि कोठामा लगेर सामूहिक बलात्कार गरेको भन्ने छ,’ डिएसी रिजालले भने।

उनका अनुसार ती तीन विद्यार्थी चितवनको एक प्राविधिक शिक्षालयमा अध्ययनरत छन्। १७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए।

‘त्यसपछि एकजना विद्यार्थीको कोठामा लगेर तीनै जनाले बलात्कार गरेको  पाइएको छ,’ डिएसपी रिजालले बताए।  उनीहरूलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी रिजालले जानकारी दिए।