काठमाडौं । दक्षिण भारतको केरला राज्यमा मंगलबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । वायनाडा जिल्लाको मुन्दाक्कै र चोरलमालामा गएको भीषण पहिरोमा परी १८७ जना बेपत्ता भएका छन् ।
केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ ।
अहिले पनि भारी वर्षा भइरहेको र पुलहरू बगेका कारण उद्दारमा कठिनाइ भइरहेको छ । भारी वर्षाका कारण केरलाका १४ जिल्लामध्ये १२ जिल्लाका विद्यालय र कलेज बन्द गरिएको छ ।
भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।
पहिरोमा परेर एक नेपालीको मृत्यु भएको र अन्य केही वेपत्ता रहेको बताइए पनि आधिकारिक पुष्टि भने हुन सकेको छैन ।