चितवन । नेपाली काँग्रेस चितवन काठमाडौँ उपत्यका सम्पर्क समितिले खिर दिवसको अवसरमा चितवनसँग सम्बन्धित ब्यक्तित्वहरुलाई जमघट गराई अन्तक्रिया सहित खिर खुवाएको छ । उक्त अवसरमा प्रमुख अतिथिका रूपमा उपस्थित नेता बलबहादुर केसीले करिब १० वर्षको अनुभवमा संविधान संशोधनको आवश्यकता देखिएको बताए ।
संविधान संशोधनको विषय हेलचक्र्याइँको विषयको नभई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक रहेको उनले बताए । 'झोला खोलिसकेपछि त्यसमा अनावश्यक सामान झिकी आवश्यक सामान राख्ने क्षमताको सुनिश्चित हुन आवश्यक छ । संविधानको झोला खोलेर अरूलाई खेल्न दिन हुँदैन।हिजो कसैको दबाबको प्रभावमा नपरी दृढ भएर स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको थियो । संविधान संशोधनमा पनि त्यस्तै दृढ नेतृत्वको आवश्यक छ ' नेता केसीले भने ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रहेका कृषि मन्त्री रामनाथ अधिकारीले सरकार उत्पादन र उपभोक्ता बढाउन लागिपरेको बताए । दुग्ध पदार्थको उत्पादन बढाउने अनि मिल्क होलिडेको अन्त्य गर्न आवश्यक रहेको उनले बताए । श्रावण १५ मा साबिक भन्दा चौबर दूध चाहिँदैमा गाई भैँसीले चौबर दूध नदिने तर आवश्यकता पूर्ति गर्न प्रविधिको पहुँच पुर्याई अगाडि देखि स्टक राख्न सकिने उनले बताए ।
केन्द्रीय सदस्यहरू दिनेश कोइराला, नानु बास्तोला, गुरु बराल, मधु आचार्य, अजय बाबु शिवाकोटीले मन्तव्य राखेका थिए । चितवन जिल्ला सभापति राजेश्वर खनालले सम्पर्क समितिले काठमाडौँमा रहेका सबै काँग्रेसलाई जिल्ला सँग जोड्ने अहम् भूमिका खेलेकोले सम्पर्क समितिलाई धन्यवाद दिए ।
सम्पर्क समितिका सभापति ऋषिश्वर थपलियाले खिर खाने दिनको आफ्नै महत्त्व रहेको भन्दै त्यसमाथि चितवनबाट आई विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरी बसेका ब्यक्तित्वहरुलाई एकै मालामा उनी सरकारलाई सहयोग गर्न सरकारसँग जोड्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए।
कार्यक्रममा उपकुलपति, पूर्व उपकुलपति, राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष, प्राध्यापक, डाक्टर ईन्जिनिर, वकिल , पर्यटन व्यवसायी लगायत करिब ४०० जनाको उपस्थित थियो ।