शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गर्दागर्दै पक्राउ परे यी धार्मिक अभियन्ता

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गर्दागर्दै पक्राउ परे यी धार्मिक अभियन्ता

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।
काठमाडौंस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।

खतिवडाले आफू पक्राउ परेको सूचना सुरुमा सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।

खतिवडाले केही दिनअगाडि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएका थिए । खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिषका रुपमा चिनाउने गरेका छन् । झापाका उनी काठमाडौंमा बस्ने गरेका छन् ।