बालेनको नक्कल : सिर्सिया नदी प्रदूषित गर्ने उद्योग परिसरमा वीरगन्ज महानगरले थुपारिदियो फोहोर

बालेनको नक्कल : सिर्सिया नदी प्रदूषित गर्ने उद्योग परिसरमा वीरगन्ज महानगरले थुपारिदियो फोहोर

वीरगन्ज स् सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूमा वीरगन्ज महानगरपालिकाले आज कचरासहितको फोहोर लगेर थुपारिदिएको छ ।

वीरगन्ज महानगरपालिकाका नगर प्रहरीसहित कर्मचारीको टोलीले सोमबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि र श्रीसिद्धि टेक्सटाइल्स प्रालिमा २० ट्याक्टर फोहोर लगेर उद्योगभित्रको परिसरमा थुपारि दिएको हो । 

यसअघि आइतबार पनि महानगरको टोलीले ती दुवै उद्योगसँगै मोरियम लेदर इण्डस्ट्रिजमा कचरासहितको फोहोर लगेर थुपारिदिएको थियो। नदीमा प्रदूषण नगर्न पटकपटक चेतावनी दिनुका साथै आर्थिक जरिवाना गर्दा पनि अटेरी गरेपछि वीरगन्ज महानगरपालिकाले उद्योगहरूमा सहरबाट संकलन गरिएका कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्योग परिसरमा थुपार्न थालेको हो ।

सोमबार दुई उद्योगमा १०/१० ट्याक्टर फोहोर लगेर थुपारिदिएको महानगरपालिका मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले बताए । आाइतबार फोहोर लगेर थुपारिएका तीन उद्योगमध्ये मोरियम लेदर इण्डस्ट्रिजकाा सञ्चालकले नदीमा प्रदूषण गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।  तर, बाँकी दुई उद्योगले आइतबार फालिएको फोहोरको तस्बिर खिच्च्न जाँदा एक नगर प्रहरीलाई दुई घण्टा नियन्त्रणमा लिएर राखेका कारण सोमबार फेरि १०/१० ट्याक्टर फोहोर लगेर उद्योगभित्र थुपारिएको फुयाँलले बताए । 

उनले भने,‘जुनजुन उद्योगले नदीमा गरिरहेको प्रदूषण रोक्न अटेरी गर्छन् वा निहुँ खोज्छन् त्यती उद्योगमा महानगरले हरेक दिन फोहोर लगेर थुपारिदिन्छ । नदीको प्रदूषण नरोकेसम्म महानगरले कचरासहितको फोहोर लगेर यसरी नै उद्योमा खसाइ रहन्छ ।’

वीरगन्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशकदेखि पर्सा बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये २० बढी उद्योगहरूले प्रदूषित गर्दै आइरहेका छन् । कपडा, कार्टुन , छाला , साबुन लगायतका उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोरको लेदो ,कोइलाको छाँई, खरानी , सडेगलेका छाला, रौं लगायतका फोहोर पदार्थ प्रशोधन नगरी सिधै नदीमा मिसाउँदै आएका छन् । 

यसअघि गत बैशाख ९ गते वीरगन्ज महानगरले नदी प्रदूषित गर्ने उद्योगहरू सिल गर्ने तयारी गरेपछि त्यहि दिन ९ वटा उद्योगका सञ्चालकहरूले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदूषण नगर्ने लिखित रुपमै सामूहिक प्रतिबद्धता जनाएका थिए ।

तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दा पनि नदीको प्रदूषण नरोकिएपछि बाध्य भएर कारबाहीस्वरुप अटेरी गर्नेमध्येका  उद्योगहरूमा आइतबारदेखि महानगरले सहरबाट संकलन गरिएको फोहोर लगेर थुपार्न थालेको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।