मध्य प्रदेश । भारतको मध्य प्रदेशका एक मजदुरले ‘लिज’मा लिएको खानी खन्दा ठूलो हिरा फेला पारेका छन् । सरकारी लिलामीमा १९.२२ क्यारेटको उक्त हिरालाई करिब ८० लाख भारुमा बेचिएको छ ।
मजदुर राजु गौडले पन्ना जिल्लामा आफूले त्यो खानी गएको १० वर्षदेखि लिजमा लिएको जनाएका छन् । नेसनल मिनरल डेभलपमेन्ट कर्पोरेसन (एनएमडीसी)ले व्यक्ति, परिवार वा सहकारी समूहलाई खानी लिजमा दिने गर्दै आएको छ । उनीहरू स्थानीयस्तरमा पाइने औजारको प्रयोग गरी खानी खन्ने गर्छन् ।
खन्दा जे भेटिन्छ, त्यो स्थानीय डायमण्ड कार्यालयमा बुझाउनुपर्ने र त्यसले हिराको मूल्यांकन गर्ने व्यवस्था छ । मध्य प्रदेश सरकारका अधिकारी अनुपम सिंहले तोकिएको समयका निम्ति खानी २०० देखि २५० भारुसम्ममा लिजमा दिने गरिएको जनाएका छन् ।
सन् २०१८ मा बुँदेलखण्डका एक मजदुरले पन्ना जिल्लामा नै १.५ करोडको हिरा भेट्टाएका थिए । राजुले फेला पारेको हिराको सरकारी कर कट्टा गरेर बाँकी रहने रकम उनले पाउनेछन् । राजुले हिरा बेचेको पैसाले राम्रो घर बनाउने र सन्तानलाई शिक्षा दिन खर्च गर्ने बताएका छन् । सबैभन्दा पहिला आफूले लिएको पाँच लाख भारु ऋण तिर्ने उनले जनाएका छन् ।