बाइडेनले उमेदवारी छोड्नुको कारण यस्तो रहेछ

बाइडेनले उमेदवारी छोड्नुको कारण यस्तो रहेछ

वाशिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै आफू उमेदवारीबाट हट्नुको कारण बताएका छन् ।

 उनले भनेका छन्, “म यो पदको सम्मान गर्दछु । तर, म आफनो देशलाई ज्यादा माया गर्दछु । राष्ट्रपतिको रुपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो ।” बुधबार उनले गरेको सो सम्बोधनमा अमेरिका एक महत्वपूर्ण मोडमा भएको बताउँदै अब हामीले जे निर्णय लिन्छौं त्यसले देशको भविश्य निर्धारण गर्ने जनाएका छन् ।  उनले भने, “हामी अघि बढ्ने कि पछाडि हट्ने, आशा र घृणा अनि एकता र विभाजनको बीचमा चयन गर्नुपर्नेछ ।”

उनले राष्ट्रपतिको रुपमा आफ्नो रेकर्ड, विश्वमा आफ्नो नेतृत्व, अमेरिकाको भविश्यका लागि आफ्नो दृष्टिकोण सबै दोस्रो कार्यकालको लागि योग्य भएको पनि बताए ।  उनले लोकतन्त्रलाई बचाउने बाटोमा केही पनि आउन नसक्ने बताउँदै यसमा व्यक्तिगत महत्वकांक्षा पनि हुने जनाए ।

उनले नयाँ पिंढीलाई जिम्मेवारी सुम्पिनु नै सबैभन्दा राम्रो उपाय भएको जनाउँदै यो नै देशको रक्षा गर्ने सबैभन्दा राम्रो उपाय भएको उल्लेख गरेका छन् । उनले सार्वजनिक जीवनमा लामो समयको अनुभवको लागि एक समय र स्थान हुने जनाउँदै नया आवाज अर्थात् युवा आवाजको लागि त्यो समय र स्थान अहिले नै भएको समेत जनाएको बीबीसीले जनाएको छ ।