पूर्वराज्यमन्त्री हत्याः घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको घरेलु हतियार बरामद

पूर्वराज्यमन्त्री हत्याः घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको घरेलु हतियार बरामद

काठमाडौं। सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर-पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो। रगत लत्पतिएको अवस्थामा फेला परेको उक्त हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ।

घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेकाले फेला परेको हतियारका विषयमा अनुसन्धान भइरहको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। ‘फरसा भन्ने घरेलु हतियार घटनास्थल नजिकैबाट फेला परेको छ,’ उनले भने, ‘यस विषयमा अनुसन्धान गरिरहेका छौँ । सोही हतियार घटनामा प्रयोग भएको आशंका छ।’

मलंगवा नगरपालिका-४, पुर्ख्यौली घर भएका ८० वर्षका पूर्वराज्यमन्त्री रायको चन्द्रनगर गाउँपालिका-१ स्थित खेतसँगैको घर (फार्म हाउस) मा गएराति धारिलो हतियार प्रहारगरी हत्या भएको थियो। उनको शव सुतेकै ओछ्यानमा फेला परेको थियो।

रायसँगै सहयोगीका रूपमा बसेका युवकको बयानअनुसार हत्या भएको राति रायलाई भेट्न तीन जना अपरिचित व्यक्ति उनी बसेकै स्थानमा आएका थिए। उनीहरूले रायसँग जग्गाको विवाद मिलाइदिन भनेको खुलेको छ।

रायले आफू सुत्ने कोठामै सुताएका उनीहरू परिचित रहेको प्रहरीको आशंका छ। घटनालगत्तै प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान शुरु गरेको थियो।

राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्रीमा नियुक्त भएका थिए। उनको दुई छोरा र पाँच छोरी छन्। परिवारसँगै काठमाडौँ बस्दै आएका उनी केही दिन पहिला मात्र धान रोपाइँ गर्न सर्लाही आएको परिवारिक स्रोतले बताएको छ।

रायको चन्द्रनगर गाउँपालिका-१, मा ठूलो क्षेत्रफलमा खेती रहेका कारण बेलाबेला उनी खेत हेर्न आउने जाने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेस प्रदेश प्रहरी कार्यालयको टोली अहिले पनि सुक्ष्म अनुसन्धानमा जुटिरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रायको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।