काठमाडौं। नेकपा (माओवादी केन्द्र) संघदेखि प्रदेशसम्म सत्ताविमुख भएको छ। केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) को नयाँ सत्ता समीकरण बनेसँगै संघीय सरकारबाट बाहिरिन बाध्य भएको माओवादी दुई प्रदेशमा पनि प्रतिपक्षमा पुगेको हो।
विश्वासको मत नपाउने निश्चित भएपछि माओवादी नेतृत्वका दुई मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका हुन्।
यसअघि विश्वासको मत लिने अडानमा रहेका दुवैले अन्ततः राजीनामा दिएका हुन्। दुवै मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित थियो।
सरकार अल्पमतमा परेसँगै जम्कट्टेलले सदनमा विश्वासको मत लिने तयारी गरेका थिए। तर, सदन सञ्चालन हुने अन्तिम समयमा उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन्।
यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले प्रदेश सभाको चौथो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै राजीनामा दिए। स्पष्ट अल्पमतमा परेपछि उनले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।
माओवादी नेतृत्वको संघीय सरकार भने प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ढलेको थियो। सरकारमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिना संघीय सरकारको नेतृत्व गरेका छन्। माओवादीकै नेतृत्व रहेको बागमती सरकार पनि १८ महिनामै ढलेको हो। अब माओवादी संघदखि प्रदेशसम्म प्रतिपक्षमा पुगेको छ।
केन्द्रमा एमाले-कांग्रेस सत्ता समीकरण बनेसँगै संकटमा परेका मुख्यमन्त्री जम्कट्टेलले संसद्बाट बहुमत जुटाउन नसक्ने भएसँगै राजीनामा दिए।
एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हालेका जम्कट्टेल असार २४ गतेबाट अल्पमतमा परेका थिए पटक-पटक सत्ता समीकरण परिवर्तन भए पनि तीनपटक विश्वासको मत लिएर सरकार सुरक्षित गरेका जम्कट्टेलले यसपटक भने निरन्तरता पाउन सकेनन्।
गत २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बन्नुभएका जम्कट्टेलले समीकरण परिवर्तनसँगै पहिलोपटक २०७९ माघ ३ मा विश्वासको मत लिएको थिए। चार महिना चलेको गठबन्धन चैत १० मा भत्किएको थियो। फेरि बनेको तत्कालीन नयाँ समीकरणअनुसार सत्ता जोगाउन भने जम्कट्टेल सफल भएका थिए।
राप्रपा र एमालेसँगको सहयात्रा टुंगिएपछि २०७९ चैत १० मा दोस्रोपटक विश्वासको मत पाएका थिए। करिब एक वर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भए पनि अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भएको थियो। चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको पाएका थिए।
तर, असार १७ गते राति कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार १८ महिनामा ढलेको हो। जम्कट्टेल साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएका हुन्। प्रदेशको पहिलो कार्यकालको पाँच वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा टिकेका थिए।