हामीले राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा

हामीले राजाको कुरा गरेर निरङ्कुशता खोजेको होइन : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरुले राजाको कुरा गरेर निरङ्कुशता र सर्बसत्ताबाद नखोजेको बताएका छन्।

बिहीबार पार्टीको अर्थ संकलन अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले चुनावी राजनीति भन्दा माथिको अभिभाबकिय संस्थाको रुपमा राजसंस्थाको एजेन्डा स्थापित गर्न आफूहरुले प्रयास गरिरहेको स्पष्ट पारे।

भूराजनीतिक अबस्थाको कारणले पनि नेपालमा राजसंस्था जरुरी भएको भन्दै उनले बिदेशीहरुको दबाब र प्रभाबबाट मुलुकलाई मुक्त गर्नु प्रमुख आबश्यकता रहेकोमा जोड दिए।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै दुई तहको सरकार भए अहिलेको समस्या धेरै हद सम्म समाधान हुने थापाको तर्क थियो। चुनाव लड्न, जित्न,सरकार बनाउन, मन्त्री प्रधानमन्त्री बन्न बिदेशीको आशीर्वाद चाहिने प्रवृत्तिले मुकुकको स्वाधिनता कमजोर भएको उनको धारणा थियो।

पछिल्लो राजनीतिक धुर्बीकरणले मुलुकलाई दुर्घटनातर्फ लैजान खोजेको भन्दै थापाले हिन्दुत्व र राजसंस्था चाहने, संघीयताको खारेजी चाहने शक्ति र समूह एक भएर चुनौतीको सामना गर्ने समय आएको भन्दै थापाले राष्ट्रबादी शक्तिलाई बलियो बनाउन सबैको सहयोग आबश्यक भएको बताए।

बिदेशीको आशीर्वाद र सहयोग नखोज्ने राप्रपा नेपाल जस्तो स्वाभिमानी दललाई सबै नेपालीको सहयोग जरुरी भएकोले आर्थिक संकलन अभियान शुरु गरिएको थापाले बताए।