काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानाले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण उनी विवादमा परेकी छन्।
केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्र बाहिरिएको छ।
सो पत्र बाहिरिएपछि सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुखको राजीनामा माग समेत गरेको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख रानाले पदीय आचरण विपरितको कार्य गरेकाले तुरुन्तै राजीनामा दिनुपर्ने बताए।
उपसभामुख रानाले रकम उठाएर अमेरिका नपाएका पीडितहरुले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमासमेत उजुरी गरेका छन्। सो उजुरीबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए।
उपसभामुख रानामाथि यस्तो गम्भीर आरोपबारे उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन।
प्रतिनिधि सभाको बैठक आइतबारका लागि डाकिएको छ। सो समयसम्म रानाले राजीनामा नदिए सदन चर्काउने सत्तारुढ दलका सांसदको तयारी छ।
उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई अनधिकृतरूपमा लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा चर्चा सुरू भएको छ।
सञ्चारमाध्यमहरूमा आएका रिपोर्टलाई आफूहरूले अध्ययन गरिरहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।
सचेतक नेपालीका अनुसार यस विषयमा सभामुख देवराज घिमिरेसँग जिज्ञासा राखेको र यस विषयमा उनले केही थाहा नभएको बताएको सुनाए।