नक्कली फेसबुक खोली चरित्र हत्या गरेको अबियोगमा एनआरएन प्रवक्तासहित २ निलम्बित

नक्कली फेसबुक खोली चरित्र हत्या गरेको अबियोगमा एनआरएन  प्रवक्तासहित २ निलम्बित

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाको आकस्मिक बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो उजुरीको प्रारम्भिक छानबिनका क्रममा दुवै जनाले नक्कली फेसबुक पेज खोलेर चरित्र हत्या गरेको पाइएको छ ।

यसबारेमा ४५ दिनभित्र विस्तृत छानबिन गर्न वरिष्ठ उपाध्यक्ष डा.अर्जुन बन्जाडेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । छानबिन समितिमा २ जना पछि थप गर्ने गरी कानुनी सल्लाहकार धन बस्नेत, सल्लाहकार सञ्जय थापा राख्ने निर्णय भएको महासचिव पशुपति पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।

अमेरिकामा आईटी विज्ञका रूपमा कार्यरत प्रसन्न संग्रौलाले भट्टराई र मल्लले छद्म नामबाट चलाएको ‘सीधा कुरा’ नामको फेसबुक पेज ह्याक गरेर सबै डाटा तथा प्रमाण पेस गरेपछि अमेरिकामा बस्ने नेपालीहरूबीच खैलाबैला मच्चिएको छ । सो पेजबाट विभिन्न व्यक्तिलाई गु्रप मेसेजमा जोडेर चरित्रहत्या तथा धम्की दिइएको पाइएको छ ।