चन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी

चन्द्र भण्डारीलाई मन्त्री बनाउने देउवाको तयारी

काठमाडौं। नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनको लागि छलफल थालेका हुन्।


यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ। रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित् भएको छ। उनको नाममा करिब करिब सहमति जुटिसकेको छ । यसपटक गुल्मीबाट निर्वाचित सांसद डा. चन्द्र भण्डारीलाई पनि मन्त्री बनाउनुपर्ने भनेर पार्टीभित्रै बलियो आवाज उठेको छ।


सभापति देउवाले पनि भण्डारीलाई यसपटक मौका दिने मन बनाएका छन् । अहिलेसम्म मन्त्री नबनेका भण्डारी सबै दलका नेता तथा कार्यकर्ताहरुले रुचाउने नेताको रुपमा परिचित छन्। उनलाई आफू नेतृत्वको क्याविनेटमा सहभागी गराउनको लागि ओलीपनि ईच्छुक छन् । कांग्रेस सभापति देउवासँग भएको मन्त्रालय बाँडफाँटको छलफलमा ओलीले भण्डारीलाई सरकारमा पठाउनको लागि सिफारिश गरेका छन ।

कांग्रेसले परराष्ट्र मन्त्रालयको नेतृत्वमा डा. आरजु राणा देउवालाई पठाउने निधो गरिसकेको विश्वस्त स्रोतको दाबी छ । अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएकी आरजु हाल प्रतिनिधिसभाको कृषि समितिको सभापतिको जिम्मेवारीमा छिन् । उनले सदनमा जलवायु परिवर्तनका एजेण्डापनि जोडदार रुपमा उठाइरहेकी छिन् ।