काठमाडौं । दोस्रो सेमिफाइनलमा प्रतियोगिताकै सबैभन्दा सफल टिम उरुग्वेविरुद्ध १–० को जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार बिहान बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जेफेरसन लेर्माले निर्णायक गोल गरे । खेलको ३९औँ मिनेटमा लेर्माले गोल गर्दै कोलम्बियालाई अग्रतामा राखेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ड्यानिल मुनोजले रातो कार्ड पाएर मैदान छाडेपछि कोलम्बियाले दोस्रो हाफ १० खेलाडीमा टुंग्याएको थियो । तर, पनि उरुग्वेले कोलम्बियन रक्षापंक्ति तोड्न सकेन । जितसँगै कोलम्बिया २३ वर्षपछि प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
यसअघि कोलम्बियाले सन् २००१ मा कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा गरेको थियो । उक्त संस्करणको फाइनलमा मेक्सिकोविरुद्ध जित निकाल्दै कोलम्बिया प्रतियोगिताको च्याम्पियन समेत बनेको थियो । कोलम्बियाले अब उपाधिका निम्ति साविक विजेता अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।