चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत

चार दिनपछि जसपाका मन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन्। चार दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई जसपाका मन्त्रीले राजीनामा बुझाएका थिए।

प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा दिएका थिए। उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जसपाका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले प्रधानमन्त्री समक्ष दिएको राजीनामा स्वीकृत भएको छ। यस अघि एमालेका मन्त्रीले राजीनामा दिएका थिए। एमालेका ८ मन्त्रीको राजीनामा भने यस अघि नै स्वीकृत भइसकेको छ।

राष्ट्रपति पौडेलले एमाले तथा जसपाका मन्त्रीले सम्हाल्दै आएकाे मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेका छन्।

एमाले-कांग्रेसको समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा छन्। एमाले-कांग्रेसले अल्पमतमा रहेका प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका बेला प्रधानमन्त्रीले भने विश्वासको मत लिने याेजनामा छन्।

प्रधानमन्त्री दाहालले आगामी शुक्रबार संसदमा विश्वासको मत लिँदै छन्।