भागबण्डा नमिल्दै कांग्रेसले चार मन्त्री छानेपछि नयाँ समीकरणमा किचलो

भागबण्डा नमिल्दै कांग्रेसले चार मन्त्री छानेपछि नयाँ समीकरणमा किचलो

जनकपुरधाम । सत्ता उलटफेरसँगै नयाँ समीकरणका दलहरु भागबण्डामा जुटेका छन् । केन्द्र देखि प्रदेशसम्म एकसाथ भागबण्डा टुंगो लगाउन शीर्ष नेताहरु नै लागि गरेका छन् । 

तर मन्त्रालय बाँडफाँट नटुंगिँदै नेपाली कांग्रेसले चार मन्त्रीको सूची तयार पारेकोपछि मधेश प्रदेशमा भने किचलो सुरु भएको छ ।  कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार कांग्रेसले क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउनेछ । मन्त्रालयको टुङ्गो नलागेको र टुङ्गो लगाउन दलहरुबीच छलफल भइरहेको सांसद क्षेत्रीले जानकारी दिए ।


गत जेठ २५ मा जनमत पार्टीका सतिशकुमार सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

सत्ता समीकरण बदलिएसँगै शनिबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ मन्त्रीलाई बर्खास्त गरेका थिए ।

नयाँ समीकरणअनुसार सरकारमा कांग्रेस र लोसपा सहभागी हुन लागेको छ । दुबै दलले विश्वासको मत दिएर मुख्यमन्त्री सिंहको सरकार जोगाइदिएका थिए । स्रोतका अनुसार मन्त्रालय बाँडफाँट आजै टुङ्गो लगाएर दुबै दललाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।

मधेश भवनमा अहिले कांग्रेस र लोसपासहित सत्तारुढ दलहरु छलफलमा छन् । कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालय मागेको छ, तर एमाले र जनमतले कांग्रेसलाई तीन र लोसपालाई एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।