कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुंगिने

कांग्रेस-एमालेबीच मन्त्रालय भागबण्डा २८ गतेभित्रै टुंगिने

काठमाडौं। संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) बीच केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमति पश्चात सरकारमा सहभागी रहेको एमालेले विश्वासको मत फिर्ता लिएको छ।

एमालेले विश्वासको मत फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रचण्डले विश्वासको मत नपाएमा कांग्रेस-एमाले मिलेर सरकार गठन गर्ने बाटो खुल्ला हुनेछ।

सरकार गठन र सञ्चालनका सन्दर्भमा कांग्रेस-एमालेबीच सात बुँदे सहमति भएको भनिपनि उक्त सहमति पत्र अहिलेसम्म गोप्य राखिएको छ। कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिएर सरकारमा जाने समझदारी बनेको बताइएको छ । तर, कुनै दलले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने अहिलेसम्म स्पट भइसकेको भने छैन।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मन्त्रालय भागबण्डाको बारेमा सामान्य छलफल भइरहेको छ। एमाले–कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकारमा कुन–कुन दल सहभागी हुने भन्ने अहिलेसम्म टुङ्गो नलागेकाले ढिलाइ भएको उनले बताए । नेता बर्तौलाले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म मन्त्रालय भागबण्डा टुङ्गिने बताए।

‘सरकारको नेतृत्व हाम्रा अध्यक्ष केपी शर्मा ओलीज्यूले गर्नुहुन्छ । मन्त्रालयका बारेमा यसबीचमा हामी छलफल गर्नेछौं। त्यो छलफल प्रारम्भिक रुपमा केही अगाडि त बढेको छ। तर, निर्णयमा हामी पुगेका छैनौं । २८ गते बेलुकासम्म मन्त्रालयको भागबण्डाको बारेमा हामी टुङ्गो लगाउँछौं,’– प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बर्तौलाले भने।