चीनमा कोरोना भाइरसका कारण ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित

चीनमा कोरोना भाइरसका कारण ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित

काठमाण्डौ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ ।

त्यसैगरी ३ हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ ।

घर फर्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।