काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासियो

काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासियो

काठमाडौं ।  काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कुमारीटोलको गेटअगाडि सोह्रखुट्टे–बालाजु सडक खण्डमा  बुधबार बिहान करिब ११ फिट गहिरो खाल्डो परेको हो।  

बीच सडकमा क्षति पुगेपछि सवारी आवागमन पनि प्रभावित भएको छ । सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र सवारी साधन चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।

मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् । उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

खाल्डोलाई घेरा हालेर मर्मत गर्ने तयारी भइरहको छ । सोह्रखुट्टे क्षेत्रका नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताए । उनका अनुसार मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ ।