भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु

भारत भागदौड : अधिकांश महिला र बालबालिकासहित १ सय १६ भन्दा बढीको मृत्यु

काठमाडौं। उत्तरी भारतमा मंगलबार एउटा हिन्दू धार्मिक सभामा १ सय १६ भन्दा बढीको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन्।

एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठूलो भीड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतंक फैलाएको थियो।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो।

राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए। धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए। एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्‍यायो।

आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए। त्यहाँ मृतकहरूलाई राखिएको थियो। उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन्। भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ।

सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो।

सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो। उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो।

सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए।