ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस्ताव गरेका छन् । देउवाको यस्तो प्रस्तावले अहिले राजनीतिमा तरंग ल्याएको छ ।

शनिबार ओली निवास पुगेका देउवाले यस्तो प्रस्ताव गरेको स्रोतको दाबी छ । कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित पुगेका देउवाले बालकोटमा लामो छलफल गरेका थिए । ‘पछिल्लो राजनीति  छलफल भयो,’ स्रोतले भन्यो, ‘देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्, तर ओलीले दुई–तीन दिनमा छलफललाई निरन्तरता दिँदै निष्कर्षमा पुगौं भन्नुभयो ।’

ओली र देउवाबीच भएको गोप्य छलफलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले तनावमा रहेका छन् । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाहिर रहेका बेला ओली र देउवाबीच छलफल भएको थियो । काठमाडौं आउनेबितिकै प्रचण्डले ओलीलाई भेट्ने प्रस्ताव गरे ।

प्रचण्डकै प्रस्तावमा आइतबार सिंहदरबारमा छलफल भयो । प्रचण्ड र ओलीबीच लामो समय छलफल भएको थियो । बीचमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने पनि मिसिएका थिए ।

‘भेटमा देउवासँग के छलफल भयो ? के कुराकानी भयो ?’ भन्ने जिज्ञसा प्रचण्डले ओलीसँग राखेका थिए । जवाफमा ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएका थिए । टीआरसीसहित पछिल्लो राजनीतिका ’boutमा सामान्य छलफल मात्रै भएको ओलीको जवाफ भए पनि माओवादी केन्द्रका नेताहरू यसमा सन्तुष्ट छैनन् । आत्तिएका माओवादी केन्द्रका नेताहरूको बुझाइमा एमाले र कांग्रेसले मिलेर अहिलेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने आँकलन छ ।

एमाले नेताहरूसँग ओली र देउवाबीच के छलफल भएको भन्ने  कुरा बुझ्न प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मालाई खटाएका छन् । माओवादी केन्द्र र एमाले दुवैसँग दोहोरो छलफलमा रहेका देउवा संघीय सरकारका साथै प्रदेश सरकारमा सहभागी हुन गठबन्धन फुटाउनेगरी लागेका छन् ।

सिंहदरबारमा भएको छलफलमा ओलीले कांग्रेससँग सहकार्य नहुने र अहिलेकै गठबन्धन २०८४ सालको निर्वाचनसम्मै रहने बताएका थिए । उनले अहिलेको गठबन्धन कसिलो बनाउनुपर्नेमा जोड दिए । तर, पछिल्लो समय प्रचण्डसँग असन्तुष्ट ओलीले विभिन्न कारणले गठबन्धन हेरफेर गर्न खोजेका छन् ।

बजेटका साथै मुख्यसचिव, धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयलाई लिएर ओली प्रचण्डसँग असन्तुष्ट छन् । उता, प्रचण्डले राजदूत नियुक्तिसहित अन्य विभिन्न विषयमा एमालेले किचलो गर्दै आएकामा असन्तुष्ट छन् । प्रचण्ड र ओलीबीचको दूरी बढ्दै गएका बेलामा देउवाले ओलीलाई भेट्नुलाई सत्ता गठबन्धन फेरबदर हुन लागेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ । कतिपयले सोमबार प्रचण्ड र ओलीका बीचमा सत्ता गठबन्धनको विषयलाई लिएर आज (सोमबार) छलफल हुन लागेको बताउँछन् ।

कतिपयले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाइके बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेपछि कांग्रेस र एमाले नेतृत्व झस्किएको पनि भनेर विश्लेषण गर्न थालेका छन् । झा पक्राउ प्रकरणले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान माथिल्लो तहसम्म पु¥याउनुपर्ने दबाब बढेको छ ।

लामिछाने यतिबेला आफ्नो साख बढाउनेगरी लागेको चर्चा छ । उनी भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइलसम्म पुग्नेगरी अघि बढेका छन् । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यही १८ असारमा हुँदै छ । उनीविरुद्ध परेको रिटमा गृहमन्त्रीबाट निलम्बनमा राखेर छानबिन गर्नुपर्ने माग राखिएको छ । त्यसैले, पनि १८ असारभन्दा अघि नै सत्ता गठबन्धनमा फेरबदर हुनसक्ने आशंकासमेत गरिएको छ ।

यसैबीच, ओलीले यथास्थितिमा मुलुक अगाडि जान सक्ने अवस्थामा नरहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा मुलुक अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए । अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्तिमा नअल्झिन र परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।

उनले अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको उल्लेख गरे । उनले उद्यमशीलता र व्यावसायिकताले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्ने बताए । उनले गरिबीबाट माथि उठ्न मसिनो चामल नभई मोटो चामलकै भए पनि आफ्नै मुलुकमा उत्पादन बढाउनुपर्ने बताए ।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिएर नीति निर्माणको पक्षमा कदम चालौं भन्दा सुनेको नसुन्यै गरेको समेत दाबी गरे । अध्यक्ष ओलीले अब कृषि क्षेत्रमा पर्खिने समय नरहेको बताए । अब गर्दै जाउँला भनेर नहुने उनको भनाइ छ ।

‘मैले प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, हामी सानातिना नियुक्ति, सरुवा, बढुवातिर नअल्झिऔं, कुन क्षेत्रमा के कस्ता सुधार आवश्यक छ, परिवर्तन आवश्यक छ ? कस्ता नीति, कस्ता कदमहरू लिन जरुरी छ ? त्यसमा छलफल गरौं,’ ओलीले भने, ‘छलफल ग¥यो, सुन्यो, सिधियो, यो सप्ताह, पुराण सुनेजस्तो होइन, हात जोडेर एकाग्र चित्तले आँखा बन्द गरेर सुन्यो, सुनिसकेपछि सकियो ।’