विमानस्थलको टर्मिनलको छत खस्दा ६ जना घाइते

विमानस्थलको टर्मिनलको छत खस्दा ६ जना घाइते

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन्। 

छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए । छतको सिटबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

आफूले स्थितिको व्यक्तिगत रूपमा निगरानी गरिरहेको र घाइतेहरूलाई अस्पताल पठाइएको नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै भनेका छन् । दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, ‘बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो ।

केही मानिस घाइते भएको खबर आएको छ । सबै घाइतेहरूलाई आकस्मिक सेवा मार्फत जरुरी सहयोग र मेडिकल सेवा उपलब्ध गराइँदैछ ।’ यस घटनापछि टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका कारण चेक इन काउन्टरहरू बन्द गरिएको छ ।