भारी वर्षाका कारण विराटनगरका बस्ती जलमग्न

भारी वर्षाका कारण विराटनगरका बस्ती जलमग्न

विराटनगर । भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

विराटनगर १२ को सम्पन्न बस्तीसहित विभिन्न क्षेत्र डुवानमा परेको वडा अध्यक्ष हिरालाल कामतले बताए । डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उनले बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानबाट परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ ।

बाढी प्रभावितलाई राख्नका लागि वडाभित्रका विद्यालय तथा सामुदायिक भवनलाई तयारी अवस्थामा राखिएको उनले बताए । बस्तीमा बाढी नपसेको तर वर्षाको पानीले निकास नपाउँदा जलमग्न भएको प्रहरीले जनाएको छ । कोशी राजमार्गको मुनालपथ खण्ड पनि पानीले निकास नपाउँदा जलमग्न छ ।

मोरङको हरैंचा स्टेसनमा गत २४ घण्टाको अवधिमा ९५ मिलिमिटर र लेटाङमा ३८.६ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा झापाको केचनामा १५४ मिलिमिटर र कास्कीको लामापाटनमा १४८ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ । ठाउँ–ठाउँमा भारी वर्षा गराउने बादल विकसित भएकाले थप वर्षा हुने सम्भावना छ । त्यसले क्षति पुर्‍याउन सक्ने भन्दै पूर्वसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।