देशभर फैलियो मनसुन, रातभर भारी वर्षाको सम्भावना

देशभर फैलियो मनसुन, रातभर भारी वर्षाको सम्भावना

काठमाडौँ ।  मौसम पूर्वानमान महाशाखाले मनसुनी प्रणाली देशभरि फैलिएको जनाएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ । मनसुन भित्रिएको एक हप्ताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो । असार ६ गते कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा सक्रिय भएको मनसुन अब कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा पनि पुगेको हो ।

नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । यस वर्ष खासगरी जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।

अहिले कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागमा आज राति भारी वर्षाको पनि सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।