मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका हुन् ?

मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका हुन् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव डा. बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गर्दैछ । मुद्दा दायर अगाडि नै राजीनामा दिने तयारी डा. अर्यालले गरेका छन् ।

हिजो अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो । सो निर्णयबारे थाहा पाएपछि मुख्य सचिव अर्याल गोजीमा राजीनामा पत्र बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेको स्रोतले बतायो ।

 स्रोतले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भन्यो, ‘राज्यको एउटा संवैधानिक निकायले मुद्दा दर्ता गरेपछि पदमा बस्न मिल्दैन । त्यो भन्दा अगाडि नै राजीनामा दिने वा नदिने तपाईंको स्वविवेकको विषय हो ।’

अर्यालले राजीनामा बुझाएर हिँडे कि यत्तिकै फर्किए भन्ने स्रोतले बताउन सकेन । यद्यपि, हिजो नदिएको भए उनले आज दिनेछन् । पदमा बहाल भएकै अवस्थामा मुद्दा दर्ता हुँदा निजामति प्रशासनकै बदनामी हुने भएकाले पहिलेकै मितिमा राजीनामा स्वीकृत हुने सम्भावना रहेको स्रोत बताउँछ ।

नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स खरिद र सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्यालविरुद्ध मुद्दा दायर हुन लागेको हो । दुवैमा अर्यालको संलग्नता पुष्टि भएको अख्तियारको दाबी छ ।

मुख्य सचिवले राजीनामा गर्दा नयाँ मुख्य सचिव नियुक्त गर्नुपर्ने र त्यसका लागि तयारी नभइसकेकाले पनि उनको राजीनामा प्रधानमन्त्रीले नै रोकेको बताइन्छ । किनकी मुख्य सचिवलाई मुद्दा दर्ता भएपछि कामु दिएर त्यसबीचमा नयाँ नियुक्तिको लागि समय पर्याप्त हुनेछ ।