आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान हुँदैनः महामन्त्री थापा

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान हुँदैनः महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा राखेका छन्।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) ले आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ”, उनले भने।

महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको बताए । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उनले भने ।

उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विस २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गराए । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभएपनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठीक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, उनले भने ।

उहाँले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरु संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । “प्रदेशहरु अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरु घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले भने । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने बताए ।