रास्वपाको चियापान कार्यक्रम, पाहुनाले बजाए घण्टी

रास्वपाको चियापान कार्यक्रम, पाहुनाले बजाए घण्टी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय चस्मतीमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका छन् ।

दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार चस्मतीमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदै प्रचण्डले विभिन्न स्टलहरूको पनि अवलोकन गरेका छन्। चियापानका क्रममा रास्वपा सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग प्रचण्डले संवाद पनि गरे । विभिन्न नेपाली उत्पादनका स्टलमा प्रचण्डलाई उपप्रधानमन्त्री लामिछानेले घुमाए ।

त्यसक्रममा प्रचण्डले रास्वपा कार्यालयमा राखिएको ठूलो आकारको घण्टी पनि बजाए । रास्वपाले दलका रुपमा दर्ता हुने क्रममा निर्वाचन आयोगबाट यही घण्टी चुनाव चिह्न पाएको हो । रास्वपाले घण्टी चुनाव चिह्न लिएर पहिलो पटक चुनावमा उठ्दा प्रचण्डकै गृहजिल्ला चितवन र काठमाडौंसहित देशका २० वटा निर्वाचन क्षेत्र २०७९ मा जितेको थियो ।

शुक्रबार चियापानमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रास्वपाको चुनाव चिह्न घण्टी बजाएका छन् ।