टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै

काठमाडौं। जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुँदै छन्। आज सुपर आठको समूह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुँदै छ। सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुँदै छ।

वेस्ट इन्डिजले समुह चरणका चारै खेल जितेर सुपर आठमा आएको हो भने ईङ्ल्याण्डले भने ४ खेलमा दुई जित एक हार एक खेल बर्षाले रद्द भएपछि अंक बाँडेर सुपर आठमा आएको हो। सेमिफाइनलमा पुग्न दुवै देशका लागि यो जित महत्वपूर्ण रहेको छ। सुपर आठको यस समूहमा अमेरिका र दक्षिण अफ्रिका रहेका छन्।

वेस्ट इन्डिज र ईङल्याण्ड अहिलेसम्म टी-२० खेलमा २९ पटक आमने सामने भएका छन्। जसमा वेस्ट इन्डिजले १७ पटक जितेको छ भने ईङ्ल्याण्डले १२ पटक जितेको छ। त्यस्तै घरेलु मैदान भएकाले वेस्ट इन्डिजले त्यसको फाइदा उठाउन सक्ने देखिन्छ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समुह एक अन्तर्गत भारत र अफगानिस्तानबीच हुँदै छ। बारबाडोसस्थित केंसिंगटन ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुँदै छ।

भारत समूह चरणमा ४ खेलमा ३ जित र एक खेल बर्षाले रद्द भएपछि समूह ए मा शिर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो। त्यस्तै अफगानिस्तानले समूह चरणमा ४ मध्ये ३ खेलमा जित एक खेलमा हार बेहोरेर समूह सी मा दोस्रो हुँदै सुपर आठमा पुगेको हो।

अफगानिस्तानले अहिलेसम्म टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराउन सकेको छैन। अहिलेसम्म अफगानिस्तान र भारतबीच कुल ८ खेल भएका छन्। जसमा ७ खेल भारतले जितेको छ भने एक खेल रद्द भएको थियो।

दुवै देशका लागि सेमिफाइनलमा पुग्न यो खेल महत्वपूर्ण रहेको छ। यस समुहमा यी दुई देशका अलावा बंगलादेश र अस्ट्रेलिया रहेका छन्।