काठमाडौं। नेपाली कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिनेक्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।
प्रमुख सचेतक लेखकले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताए। उनले मन्त्रीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताएका छन्।
उनले भने- 'प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ। प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ । ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ । होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ ।’
प्रतिनिधि सभाम विनियोजन विधेयकमाथिको छलफलमा मन्त्री र सत्ता समीकरण दलका शिर्ष नेताहरुको जिल्लामा अत्याधिक बजेट विनियोजन गरेको भन्दै सांसदहरुले आलोचना गरिरहेका छन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा, झापा, रोल्पा र गोर्खा जिल्लामा अस्वाभाविक रुपमा छुट्याइएको भन्दै सत्ता पक्ष र विपक्षक सांसदहरुले विरोध गरिरहेका छन् ।